पाँचखाल (काभ्रे), साउन ७। सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध पाँचखाल नगरपालिकाले कडा कदम अघि बढाएको छ। नगरपालिकाले सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका घर, टहरा, पर्खाल तथा अन्य भौतिक संरचना ३५ दिनभित्र हटाउन अन्तिम सार्वजनिक सूचना जारी गर्दै अटेर गरे कानुनअनुसार डोजर चलाउने चेतावनी दिएको हो।
नगरपालिकाले आज बुधबार सार्वजनिक गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुनबमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार सार्वजनिक जग्गा अतिक्रमणका कारण नगर कार्यपालिकाको कार्यालय भवन जाने सडक प्रभावित हुँदै आएको छ। यसअघि पनि सम्बन्धित पक्षलाई सूचना दिइए पनि अतिक्रमण नहटाइएकाले पुनः अन्तिम चेतावनीस्वरूप ३५ दिने म्यादसहित सूचना जारी गरिएको हो।
सूचनामा तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिले आफैं संरचना हटाए कुनै समस्या नहुने, तर अटेर गरे नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी बल प्रयोग गरेर संरचना हटाउने स्पष्ट उल्लेख छ। त्यति मात्र होइन, संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित अतिक्रमणकर्ताबाट नै असुल गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सार्वजनिक जग्गा व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्न तथा कानुनको सम्मान गर्दै तोकिएको समयसीमाभित्र संरचना हटाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। अन्यथा कानुनी कारबाहीसँगै आर्थिक दायित्वसमेत बेहोर्नुपर्ने चेतावनी दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा हस्ताक्षरित उक्त सूचना २०८३ साउन ७ गते सार्वजनिक गरिएको हो। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा कसैसँग पनि सम्झौता नगर्ने संकेत दिँदै आगामी दिनमा अतिक्रमणविरुद्धको अभियानलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस