काठमाडौं, ९ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल हुन्। शनिबार दिउँसो उनी कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिएकी थिइन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुलिनसकेको र मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रहरीले पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानको निष्कर्षपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस