काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीस्थित पनौती–तालढुंगा भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे बा २१ च २४२ नम्बरको बोलेरो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटार, तालढुंगा, ढुंखर्क र खोपासीबाट प्रहरी टोली एम्बुलेन्ससहित घटनास्थलमा परिचालन गरिएको थियो।
दुर्घटनामा खानीखोला गाउँपालिका–२ की करिब २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का करिब ६१ वर्षीय कलकबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बनेपा नगरपालिका–१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला गाउँपालिका–३ का २४ वर्षीय प्रदीप जर्गामगर, खानीखोला गाउँपालिका–५ का बौद्धमान लामा र सिन्धुपाल्चोक चौतारा नगरपालिकाका धनपति रावल घाइते भएका छन्। बौद्धमान लामाको टाउकोमा चोट लागेको छ भने धनपति रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बोलेरो चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ वर्षीय यसबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धुलिखेल अस्पताल लगिएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई दिउँसो ३ः१५ बजे काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित कामीडाँडाबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी ३ः२५ बजे धुलिखेलमा अवतरण गराएको थियो।
दुर्घटना के कारणले भयो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको थप विवरण तथा चालकको अवस्थाबारे अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस