पाँचखाल (काभ्रे), असार १४ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित ढुंगानाबेसीमा रहेको नव प्रतिभा माध्यमिक विद्यालय, तिनपिप्लेमा माध्यमिक तहका अंग्रेजी शिक्षकहरूका लागि विद्यार्थी–केन्द्रित तथा सञ्चारमुखी अंग्रेजी शिक्षण रणनीतिसम्बन्धी एकदिने १२ घण्टे ‘ELT Teacher Training’ कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसन अन्तर्गतका ELT Scholars को आयोजनामा सम्पन्न तालिममा जिल्लाका विभिन्न विद्यालयका माध्यमिक तहका अंग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमले आधुनिक शिक्षण पद्धति अपनाई कक्षाकोठामा विद्यार्थीको सक्रिय सहभागिता बढाउने, सिकाइलाई प्रभावकारी बनाउने तथा शिक्षण प्रक्रियालाई व्यवहारमुखी बनाउने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा Communicative Language Teaching (CLT), Student-Centered Teaching Strategies, Gamification तथा Continuous Assessment System (CAS) लाई प्रभावकारी रूपमा कक्षाकोठामा प्रयोग गर्ने विधिबारे प्रस्तुति, समूहगत छलफल, प्रदर्शन कक्षा र सहभागितामूलक अभ्यास सञ्चालन गरिएको थियो। प्रशिक्षकहरूले परम्परागत शिक्षक–केन्द्रित पद्धतिभन्दा विद्यार्थी–केन्द्रित सिकाइले भाषा शिक्षणलाई थप प्रभावकारी बनाउने धारणा राखेका थिए।
तालिमका प्रमुख प्रशिक्षक सिमोन देवापाते (प्रधानाध्यापक, शालोम एकेडेमी), अमेरिकाबाट फर्किएर हाल शिक्षणमा संलग्न रबिन थापा तथा चिनियाँ भाषा एवं अंग्रेजी शिक्षिका प्रतिमा भुजेलले आधुनिक शिक्षण प्रविधि, सिर्जनात्मक सिकाइ वातावरण निर्माण, विद्यार्थीको सक्रिय सहभागिता अभिवृद्धि तथा निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयनबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अध्यक्षता नव प्रतिभा माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसनका अध्यापक के.पी. घिमिरे सहभागी थिए। प्रमुख अतिथि घिमिरेले बदलिँदो शैक्षिक परिवेशमा शिक्षकहरूको निरन्तर व्यावसायिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थी–केन्द्रित, अनुसन्धानमुखी तथा व्यवहारिक शिक्षण पद्धतिले सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष न्यौपानेले यस्ता व्यावसायिक तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि भई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा पेशागत विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा सहभागी शिक्षकहरूले तालिम अत्यन्त व्यवहारिक, समयसापेक्ष र कक्षाकोठामा प्रत्यक्ष रूपमा लागू गर्न सकिने खालको रहेको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता प्रशिक्षणले शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय विद्यालय शिक्षाको विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस