धुलिखेल, असार १५ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा भएका डाँका–लुट, सुन चोरी तथा अनलाइन बेटिङजस्ता संगठित आपराधिक गतिविधिमा संलग्न विभिन्न गिरोहलाई पक्राउ गरी महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ। आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले पछिल्ला दिनमा भएका अनुसन्धान, पक्राउ र बरामदका विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार असार १ गते बनेपा नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा ५२ वर्षीया एक महिलालाई बैंक देखाइदिने बहानामा झुक्याई नसालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाएर बेहोस बनाई सुनका गरगहना, नगद र मोबाइल लुटिएको घटनाको सफल अनुसन्धान गरिएको छ।
घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन तथा प्राविधिक अनुसन्धानपछि लुटपाटमा संलग्न मुख्य अभियुक्त केदार श्रेष्ठ र बुद्धकुमार श्रेष्ठ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ।
अनुसन्धानका क्रममा चोरी गरिएका सुनका गरगहना भक्तपुरस्थित एक सुन पसलमा बिक्री गरिएको खुल्न आएपछि उक्त पसलबाट गलाइसकिएको अवस्थामा सुन बरामद गरिएको छ। यस प्रकरणमा सुन खरिद गर्ने पसल सञ्चालक नवराज घिमिरे (वि.क.) लाई समेत पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पुराना घटनासँग पनि जोडियो अनुसन्धान
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले तनहुँ, पाल्पा तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विगतमा पनि नसालु पदार्थ खुवाएर सुन तथा नगद लुटपाट गरेका घटनामा संलग्न रहेको खुलेको छ। केही अभियुक्त यसअघि यस्तै प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
अनलाइन बेटिङ सञ्चालन गर्ने चार जना पक्राउ
प्रहरीले पनौती नगरपालिका–६ स्थित एक घरबाट अनलाइन सट्टेबाजी (Online Betting) सञ्चालन गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूको साथबाट आईफोन, आइप्याड, ल्यापटप तथा विभिन्न कम्पनीका मोबाइल फोनलगायत डिजिटल उपकरण बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सुन चोरी गर्ने अर्को गिरोह पनि नियन्त्रणमा
धुलिखेल नगरपालिका–७ क्षेत्रमा एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी गरी फरार भएको घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चोरी भएको सुन गलाइसकिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनदेखि राजस्व संकलनसम्म उल्लेखनीय उपलब्धि
प्रहरीका अनुसार पछिल्लो अवधिमा अदालतको फैसला कार्यान्वयन अन्तर्गत १९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १८ वर्ष ११ महिना बराबरको कैद सजाय कार्यान्वयन हुनुका साथै रु. ८४ लाख ३१ हजार २ सय जरिवाना असुल भएको छ।
यस्तै, अवैध खानीजन्य पदार्थ, ओभरलोड सवारीसाधन तथा बिलबिजकविहीन सामानमाथिको कारबाहीबाट रु. १२ लाख ५७ हजार ७६० राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारी
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेठ र असार महिनामा १६६ वटा कार्यक्रम सञ्चालन गरी करिब ४ हजार ९८० नागरिकलाई प्रत्यक्ष लाभान्वित गरिएको जानकारी दिइएको छ। सार्वजनिक सुनुवाइ, विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, खेलकुद, गस्ती र प्रशिक्षणलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण अभियान तीव्र
प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत करिब १५ हजार गाँजाका बोट नष्ट गरेको जनाएको छ। साथै सार्वजनिक सवारी चालकको लागूपदार्थ परीक्षणका क्रममा १२ जनामाथि अनुसन्धान भइरहेको तथा विद्यालय र समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी पनि दिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अपराध नियन्त्रण, अनुसन्धान र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकको शान्ति–सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस