जनकपुरधाम । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ गुलरिया निवासी २५ वर्षीय रिशी कुमार यादव रहेका छन्।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा यादवलाई सिरहा नगरपालिका–७ बाट नियन्त्रणमा लिएको हो।
विभिन्न मितिमा चोरी भएका मोटरसाइकलको खोजतलास गर्ने क्रममा यादवलाई तीनवटा मोटरसाइकलसहित पक्राउ गरिएको डीएसपी पालले जानकारी दिए।
प्रहरीका अनुसार बरामद मोटरसाइकलमा स ८ प ७०६३ नम्बरको कालो पल्सर १५० सीसी, स ४ प १७ नम्बरको रातो युनिकर्न र नम्बर परिवर्तन गरिएको अवस्थामा फेला परेको स ११ प ०६११ नम्बरको मोटरसाइकल रहेका छन्।
पक्राउ परेका यादव र बरामद मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस