कवि नरेन्द्रकुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ माथि विमर्श भएको छ ।
काभ्रेको बनेपा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा कवि, निबन्धकार दीपक सापकोटाले सन्नाटाको लय माथि आफ्नो धारणा राख्दै कविको कवित्वमाथि बोले । संग्रहमा रहेका अधिकांश कविताले गाउँको बिम्ब बोकेको र आम जनजीवनको यथार्थ चित्रण भएको कविता संग्रह वास्तवमै एउटा लय बोकेको छ भन्नेमा ढुक्क रहेको बताए ।
कथाकार दिनमान गुर्मछानले कवि नरेन्द्र कुमार नगरकोटीले लेखेका कविता उनको आमाको व्यवहारबाट जन्मिएको हो भन्ने कुरा बताए । आमाले भोग्नु भएको वातावरण, आमाले बुझ्नु भएको परिवेशसँगै कविले आफूलाई खोज्दै जाँदा कविता ज्वलन्त जन्मिएकोले यति सुन्दर र अर्थपूर्ण रहेको बताए ।
जूनकिरी साहित्यिक अभियानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि मोहन दुवालले काभ्रेमा कविहरुको हौसला बढ्दै गएको र कवि नरेन्द्रकुमार नगरकोटीले नयाँ पुस्तालाई आफूसँगै अघि लिएर हिँडिरहेको बताए । माधव काभ्रेलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री, रामसुन्दर देउजा, हरिप्रसाद चौलागाईं लगायत अतिथिले कवि नरेन्द्रकुमार नगरकोटीलाई शुभकामना मन्तव्य दिए । जूनकिरी साहित्यिक अभियानले मासिक कार्यक्रम गर्दै आएकोमा हाल वार्षिक रुपमा गर्दै आइरहेको छ । उक्त कार्यक्रममा ३ दर्जन कविहरुले आआफ्ना सिर्जना सुनाएका थिए ।
कार्यक्रममा कवि नगरकोटीले ‘रापिलो कविता,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ जस्ता कविता सुनाए । उनले आफ्नो कविता यात्राको थालनीदेखि सन्नाटाको लय प्रकाशन सम्मको बारे बताएर उपस्थितहरुलाई मन्त्रमुग्ध बनाए ।संग्रहलाई शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य रु १ सय ९९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस