२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

युवतीलाई पोलमा बाँधेर कालो मोसो दलियो, संलग्न चार जना पक्राउ


१२२३ पाठक संख्या
  • २०८३ जेष्ठ ३१, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • बिर्तामोड, झापा – झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पुरानो रिसइबीका कारण गरिएको भनिएको उक्त अमानवीय व्यवहारमा संलग्नहरूलाई घटनामा प्रयोग गरिएका सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २९ गते साँझ करिब ६ः३० बजे बिर्तामोड नगरपालिका–२ चारपानेस्थित राजगढ जाने सडकखण्डमा २१ वर्षीया सबिना राजबंशीलाई केही व्यक्तिले नियन्त्रणमा लिएर बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेका थिए।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर पीडित युवतीको उद्धार गरेको थियो। साथै घटनामा संलग्न चार जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ निवासी २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन्।

    प्रहरीले उनीहरूको साथबाट कालो मोसोका रूपमा प्रयोग गरिएको मोबिलको बट्टा तथा विभिन्न किसिमका १६ थान पम्प्लेट बरामद गरेको छ।

    पीडित सबिना राजबंशीको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।सामाजिक मर्यादा र कानुनी शासनमाथि चुनौतीका रूपमा हेरिएको उक्त घटनाप्रति स्थानीयस्तरमा व्यापक चासो र आलोचना व्यक्त भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार