२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

रोशीमा बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द


१७१७ पाठक संख्या
  • २०८३ जेष्ठ २६, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • काभ्रेपलाञ्चोक, २६ जेठ । लगातारको वर्षापछि रोशी खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिका तथा रोशी गाउँपालिकाको माथिल्लो क्षेत्रमा निरन्तर र अत्यधिक वर्षा भइरहेको छ। सोही वर्षाका कारण रोशी खोलाको जलसतह बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा सञ्चालन हुने सम्पूर्ण प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि बन्द गरिएको हो।

    प्रहरीका अनुसार रोशी गाउँपालिका–९ स्थित चारसयबेशी क्षेत्रमा पहिरो समेत खसेको छ। बढ्दो पानीको बहाव र पहिरोका कारण सडक थप जोखिमपूर्ण बनेपछि राजमार्गमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जनाइएको छ।

    प्रहरी नायब उपरीक्षक विष्टले रोशी खोलाको बहाव सामान्य अवस्थामा फर्किएपछि तथा चारसयबेशी क्षेत्रमा खसेको पहिरो हटाएर सडक सुरक्षित बनेपछि मात्र राजमार्ग पुनः सञ्चालनमा ल्याइने जानकारी दिए।

    हाल बीपी राजमार्ग हुँदै पूर्वतर्फ जाने तथा पश्चिमतर्फ आउने सवारीसाधनलाई काभ्रेको धुलिखेल क्षेत्रमा रोकिएको छ भने सिन्धुली जिल्ला प्रहरीसँगको समन्वयमा खुर्कोट र नेपालथोक क्षेत्रमा समेत सवारी व्यवस्थापन तथा होल्डिङको व्यवस्था गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले वर्षायाममा नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    मनसुन सक्रिय भएसँगै काभ्रेपलाञ्चोकसहित मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो तथा बाढीजन्य जोखिम बढ्न थालेको छ। सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार