काभ्रे, पाँचखाल । स्थानीय खानाका परिकारको प्रवर्द्धन, महिला उद्यमशीलताको विकास तथा आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले पाँचखाल नगरपालिकाको वडा नं. ४ स्थित तामाघाटको बोहोरेदोभान चोकमा नियमित ‘फुड फेस्टिबल’ आयोजना हुने भएको छ।
श्री देवीस्थान महिला समूहको आयोजनामा तथा पाँचखाल नगरपालिका वडा नं. ४ को कार्यालयको सहयोगमा सञ्चालन हुने फेस्टिबल प्रत्येक शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।
फेस्टिबलमा स्थानीय स्तरमा उत्पादन गरिएका तथा परम्परागत स्वाद बोकेका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेष गरी मौलिक नेपाली खानाका परिकार, खाजा तथा स्थानीय उत्पादनबाट तयार गरिएका खाद्य सामग्रीको प्रदर्शनी र बिक्री गरिने व्यवस्था मिलाइएको छ।
कार्यक्रमको वारेमा पाँचखाल नगरपालिका वडा नं ४ को वडा अध्यक्ष सुन्दर तमाङको अनुसार यस कार्यक्रमले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन, घरेलु उत्पादनलाई बजारसँग जोड्न तथा स्थानीय संस्कृतिसँग सम्बन्धित खानाका परिकारको संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। वडा अध्यक्ष तामाङले थप्नुभयो प्रत्तेक हप्ताको शुक्रबार र शनिबार कृषि हाट बजार सञ्चालन गर्दै आएका छौ । सोहि बजारमा ‘फुड फेस्टिबल’ समेत थप गरिएको हो ।
पछिल्लो समय स्थानीय खानाप्रतिको आकर्षण बढ्दै गइरहेका बेला पाँचखालमा आयोजना हुन लागेको यो फुड फेस्टिबलले नगरवासीसँगै बाहिरी क्षेत्रबाट आउने आगन्तुकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमले स्थानीय कृषि उत्पादनको खपत बढाउनुका साथै साना व्यवसायीलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ। आयोजकले सबैलाई फेस्टिबलमा सहभागी भई स्थानीय स्वादको अनुभव लिन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस