२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मालपोत कर्मचारीलाई १५ करोड भ्रस्टाचारको मुद्धा


२५९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालत काठमडौंमा मंगलबार मुद्धा दायर गरेको छ ।

    गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    गुप्ता ०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरेका थिए । उनी ०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    आयोगका अनुसार गुप्ताको वैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ रहेको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ रहेको छ ।

    गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, कविता कुमारी, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले घर, जग्गा, सवारी साधन, व्यवसाय गायतमा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

    गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले कारबाही गरी पाउँ भनी आयोगमा उजुरी परेपछि उनीविरुद्ध अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार