तनहुँ — जिल्लाको रिसिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिसिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।
रिसिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर ओह्रालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सन्देशलाई दमौली अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।
सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयकी शिक्षिका थिइन् ।
प्रतिक्रिया दिनुहोस