२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

किटजन्य रोगबारे जनचेतना: डेंगी, औलो र टाइफाइड नियन्त्रणमा समुदायिक अभियान आवश्यक


१५८७ पाठक संख्या
  • २०८३ अषाढ ४, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  •  काभ्रे । पाँचखाल नगरपालिकामा आयोजित किटजन्य रोगसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा डेंगी, औलो, कालाजार, टाइफाइड, हात्तीपाइले र जापानिज इन्सेफ्लाइटिस लगायतका रोगका बारेमा विस्तृत जनचेतना फैलाइएको छ।

    कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत गायत्री पौडेलले किटजन्य रोगहरूको कारण, लक्षण, जोखिम तथा रोकथामका उपायबारे जानकारी दिनुभयो। उहाँले विशेषगरी लामखुट्टे तथा अन्य किटबाट सर्ने रोगहरू समयमै पहिचान र नियन्त्रण गर्न सके ठूलो स्वास्थ्य संकटबाट बच्न सकिने बताउनुभयो। साथै, व्यक्तिगत सरसफाइ, वातावरणीय सफाइ तथा सुरक्षित पानीको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    पाँचखाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङले स्वास्थ्य सचेतना केवल कार्यालय वा संस्थामा सीमित नभई घर–घर र टोल–टोलसम्म पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले डेंगी रोग तीव्र रूपमा फैलिन सक्ने समय भएकाले नियन्त्रण अभियानलाई समुदायस्तरमै सशक्त बनाउनुपर्ने बताउनुभयो। “आफ्नो घर मात्र सफा गरेर होइन, सम्पूर्ण टोल नै सफा राख्ने अभियान आवश्यक छ,” उहाँले भन्नुभयो।

    त्यसैगरी, पाँचखाल नगर स्वास्थ्य संयोजक उज्ज्वल अधिकारीले डेंगी नियन्त्रणका लागि नगर क्षेत्रमा सम्भावित जोखिमयुक्त स्थानहरू पहिचान गरी “खोज र नष्ट गर” अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    कार्यक्रमको समापन गर्दै नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले घर सरसफाइ मात्र पर्याप्त नभई समुदायगत सरसफाइ नै रोग नियन्त्रणको मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँले सबै नागरिकलाई सक्रिय सहभागितासहित रोग रोकथाम अभियानमा जुट्न आग्रह गर्नुभयो।

    कार्यक्रमले किटजन्य रोग नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह र समुदायबीच सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार