२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

पाँचखालमा मानव बेचबिखन नियन्त्रण अभियान तीव्र, सरोकारवालाको साझा समिति गठन


४४३ पाठक संख्या
  • २०८३ अषाढ ४, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधविरुद्ध पाँचखाल नगरपालिकाले सशक्त अभियानको थालनी गरेको छ। जोखिममा रहेका महिला, बालबालिका तथा युवाहरूको संरक्षण गर्दै मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन नगरपालिकाले नगर प्रमुख महेश खरेलको संयोजकत्वमा १९ सदस्यीय नगरस्तरीय मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) समिति गठन गरेको छ।

    नगरपालिकामा सम्पन्न सरोकारवाला निकायहरूको बैठकले स्थानीय सरकार, सुरक्षा निकाय, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, सञ्चार, उद्योग–वाणिज्य, युवा क्लब, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूलाई एउटै मञ्चमा ल्याउँदै बहुपक्षीय संयन्त्र निर्माण गरेको हो। स्थानीय तहमा यति व्यापक प्रतिनिधित्वसहित गठन गरिएको समिति मानव बेचबिखन नियन्त्रणका लागि काभ्रेपलाञ्चोकमै नमूना प्रयासका रूपमा हेरिएको छ।

    समितिले मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, जोखिममा रहेका व्यक्तिहरूको पहिचान, उद्धार, पुनःस्थापना, कानुनी सहजीकरण तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेछ। विशेषगरी वैदेशिक रोजगारी, विवाह तथा विभिन्न प्रलोभनका माध्यमबाट हुने बेचबिखनका घटनाप्रति समुदायलाई सचेत बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

    समितिको प्रभावकारी कार्यान्वयनका लागि आगामी असार १८ र १९ गते दुई दिने ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) क्षमता अभिवृद्धि तालिम’ आयोजना गरिने भएको छ। तालिममा जनप्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा समुदायस्तरका अगुवाहरू सहभागी हुनेछन्। तालिममार्फत मानव बेचबिखनका संकेतहरू पहिचान गर्ने तरिका, कानुनी प्रक्रिया, पीडितको उद्धार तथा पुनःस्थापनासम्बन्धी विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

    समितिमा नगर प्रमुख महेश खरेल संयोजक तथा नगर उपप्रमुख सूर्यमाया दनुवार सह–संयोजक रहनुभएको छ। सदस्यहरूमा इलाका प्रहरी कार्यालयका प्रमुख जंगबहादुर वाईबा, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार, उद्योग–वाणिज्य, युवा तथा महिला क्षेत्रका प्रतिनिधिहरूसहित पीडित समुदायको प्रतिनिधित्व गर्ने सदस्यसमेत समावेश गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारादेवी राउत सदस्य–सचिव रहनुभएको छ।

    नगर प्रमुख खरेलले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी संयन्त्र मात्र पर्याप्त नहुने भन्दै समुदायको सक्रिय सहभागिता र सचेतना अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय सरकार, सुरक्षा निकाय र नागरिक समाजबीचको समन्वयले पाँचखाललाई मानव बेचबिखनमुक्त र सुरक्षित नगरका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    मानव बेचबिखनका घटना विश्वव्यापी चुनौतीका रूपमा देखिइरहेका बेला पाँचखाल नगरपालिकाको यो पहलले स्थानीय तहबाट पनि प्रभावकारी प्रतिरोध सम्भव छ भन्ने सन्देश दिएको छ। सरोकारवाला निकायहरूको साझा प्रतिबद्धतासहित अघि बढाइएको यो अभियानले मानव बेचबिखनविरुद्धको लडाइँलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार