२१ वैशाख, काठमाडौं । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । उनीहरुमध्ये ३५९ जनाको वैशाख महिनाको २१ दिनमा मृत्यु भएको हो ।
वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।
वैशाख महिनामा मात्र ६९ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक तीव्र रुपमा बढी रहेको संक्रमितमध्ये थुप्रैको स्वास्थ्य अवस्था गम्भीर देखिँदा मृतकको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन् । ‘संक्रमित बढेपछि मृतकको संख्या त बढ्ने भइहाल्यो’ डा. बाँस्तोला भन्छन्, ‘मृतकको संख्या तीव्र रुपमा बढ्नुको मुख्य कारण संक्रमित भएका मध्ये धेरै बिरामीको अवस्था गम्भीर देखिनु नै हो ।’
प्रतिक्रिया दिनुहोस