काभ्रेपलाञ्चोक ।सुनको सिक्रि टुटपाटको आरोपमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. ७ का एक जना सहित ५ जना प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा श्रृंखलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका वडा नं. १ दुरागाउँ घर भई हाल काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका वडा नं. ८ घर भई काठमाडौं चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ७ घर भई काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका वडा नं. ७ घर भई काठमाडौं महानगरपालिका वडा नं. ९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाडौं न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११.२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस