काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका अन्तरगत बिभिन्न सडक छेउछाउमा सार्वजनिक जग्गा मिचेर निर्माण भएको संरचनाहरु ६ महिना भित्रमा हटाउने सहमती भएको छ ।
पालिकाले पटक पटक सुचना जारी गर्दै सार्वजनिक जग्गामा निर्माण भएका संरचनाहरु तत्काल हटाउने प्रकृया अगाडि बढाउँदै गर्दा सहमतीको आधारमा ६ महिना समय दिएको हो । सोही सहमतीको आधारमा तत्काल सो संरचनाहरु नहटाइने भएको छ ।
शुक्रबार व्यवसायीहरुले गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ समक्ष म्याद थपको लागि लिखित अनुरोध गरेको थियो । अनुरोध पत्रमा गाउँपालिकाले जारी गरेको ‘सार्वजनिक स्थलमा बनाइएका घर टहरा हटाउने’ सूचना प्रति आफूहरुको पुर्ण रुपमा सहमति भएको र गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
पत्रमा आफूहरुले प्रयोग गर्दै आएको घर टहरा हटाइ अर्को व्यवस्था गर्नका लागि थप समय अधिकतम ६ महिना आवश्यक पर्ने भएको जनाउँदै व्यवसायीहरुले समयावधी ६ महिना थप गरि आवश्यक सहयोग गरिदिनुहुन गाउँपालिका समक्ष अनुरोध गरेको थियो । व्यवसायीहरुको अनुरोधलाई गाउँपालिकाले सहमति जनाएको छ ।
गाउँपालिका अध्यक्ष तामाङले अव्यवस्थित बजारलाई, ब्यबस्थित बनाउदै सुन्दर तेमाल निर्माण गर्ने उदेश्यले यो कदम चालेको बताए । सार्वजनिक सम्पतिको संरक्षण गर्नु सरकारको दायित्व भित्र परेको बताउँदै बैकल्पिक योजना अनुसार नै सार्वजनिक स्थलहरुमा निर्माण भएको घर टहाराहरुको व्यवस्थापन गर्न लागेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस