१७ मंसिर, पोखरा । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन् । जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।
नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन् । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए ।
जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारी सेवा केन्द्रको नाममा रकम हिनामिना भएको उजुरीपछि रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा सेवाकेन्द्रको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो ।
वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ । ‘व्यवस्थापक वीरेन्द्रसँग मिलेर सहकारीलाई नै हानी, क्षति पुर्याउने गरी ११ करोड २० लाख ठगी भएको र त्यसको मुख्य हिनामिनामा संलग्नता बगालेको देखिएको छ,’ डीएसपी श्रीवास्तवले भने ।
जनकल्याण बचत तथा ऋण सहकारी वेसीशहरले आवश्यक कारबाहीको लागि पत्र काटेको थियो । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदनसहित कागजात प्रहरीलाई पठाएर अनुसन्धानका लागि अनुरोध गरेको थियो ।
बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने वीरेन्द्रलाई ७ दिनको म्याद थप भएको छ ।
प्रतिक्रिया दिनुहोस