२०८१ पौष १४, आईतबार | Sun, 29, Dec, 2024

खोप लगाउदा बालकको मृत्यु


१३२७ पाठक संख्या
  • २०८१ पौष १३, शनिबार मा प्रकाशित १ दिन अघि
  • बैतडी। बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका–२, छेपट्टा गाउँका मुकेश रानाका दुईमहिने छोरा आदर्श रानाको मृत्यु भएको छ ।

    बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविरुद्धको ओपिभी, झाडापखालाविरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो । दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किंदा बालकलाई ज्वरो आएको थियो । राति ¥याल र फिज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लगेको तर त्यहाँ उपचार नहुने भएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो । बर्थिङ सेन्टरका अनुसार बालकलाई पोलियो रोगविरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो । त्यसै गरी ओपिभी र रोटा डोज खुवाइएको थियो ।

    घटनापछि निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग राखेर अभिभावक र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन् । बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप लगाएका बालकको मृत्यु भएको विषयमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई खबर गरी अनुसन्धान टोली पठाइदिन माग गरेका छौँ । पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युका कारण खुल्न सक्छ ।”  घटनापछि गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टिमले स्थानीयसँग छलफल गरिरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु