२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

गोठाटारमा भीषण आगलागी : १४ पसल जलेर नष्ट, आगो निभाउँदा एक घाइते


३८७५ पाठक संख्या
  • २०८३ श्रावण १७, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • १७ साउन, काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित गोठाटारको पहेँलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा विभिन्न १४ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा लाखौं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ भने आगो निभाउने क्रममा एक जना घाइते भएका छन्।

    प्रहरीका अनुसार शनिबार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट (करेन्ट सर्ट) भएपछि आगलागी सुरु भएको थियो। काठको गोदाममा लागेको आगो तीव्र रूपमा फैलिँदै वरपरका व्यवसायिक सटरमा पुगेपछि एकपछि अर्को पसल जलेर नष्ट भएका हुन्।

    आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा संयुक्त रूपमा खटिएका थिए। आगो निभाउन ९ वटा दमकल३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    आगो नियन्त्रण गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार नगर अस्पताल, मुलपानीमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

    आगलागीबाट क्षति पुगेका पसलहरू

    आगलागीबाट निम्न व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन्–

    • ओम काष्ठ मिल उद्योग
    • रिकन्डिसन एण्ड हेल्मेट पसल
    • बासु फर्निचर पसल
    • घिसिङ अटो रिकन्डिसन
    • रङ पसल
    • प्रेम गौतम रिकन्डिसन
    • मोबाइल पसल
    • हार्डवेयर पसल
    • मिठाई पसल
    • चिया पसल
    • हिमेश गौतमको फर्निचर पसल
    • चटपटे तथा किराना पसल
    • कस्मेटिक पसल
    • स्टेशनरी पसल

    प्रहरीले आगलागीको विस्तृत क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    आगलागीका कारण गोठाटार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीय व्यवसायीहरू ठूलो आर्थिक क्षतिमा परेका छन्। क्षतिको यकिन विवरण तथा राहतसम्बन्धी निर्णय सम्बन्धित निकायले थप अध्ययनपछि सार्वजनिक गर्ने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार