२०८१ पौष १४, आईतबार | Sun, 29, Dec, 2024

आज देशभरको मौसम बदली, वर्षाको सम्भावना


२०८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ पौष १३, शनिबार मा प्रकाशित १ दिन अघि
  • आज बिहानैदेखि काठमाडौँसहित देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उनका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

    सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ । साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेको छ ।यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु