२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

भैरवकुण्डमा गुञ्जियो शंखध्वनि, ६४ शिवलिङ्ग प्राणप्रतिष्ठासँगै धार्मिक उत्साह चरममा


४०८३ पाठक संख्या
  • २०८३ बैशाख २०, आईतबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३, मेथिनकोट बेंशीस्थित भैरवकुण्ड मन्दिर परिसर आइतबार धार्मिक आस्था र उत्साहले भरिएको देखियो। ६४ शिवलिङ्गको भव्य प्राणप्रतिष्ठा कार्यक्रमसँगै आयोजित शंखध्वनि प्रतियोगिताले सम्पूर्ण क्षेत्र नै आध्यात्मिक तरंगले गुन्जायमान बनायो।

    विश्व हिन्दु महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष तथा भैरवकुण्ड व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष केदार प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्सांग लामा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरे, वडाध्यक्षहरू रमेश तिवारी र रामकृष्ण अधिकारी तथा बागमती प्रदेश अध्यक्ष अर्जुन प्रसाद सापकोटा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    नैमिषारण्य गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारी, धार्मिक गुरु दिनेश कट्टेल, पण्डित अच्युत प्रसाद पौडेल ‘चिन्तन’, पुरुषोत्तम हुमागाईं, समाजसेवी तथा विभिन्न धार्मिक अभियन्ताहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई अझै गरिमामय बनाएको थियो। वैदिक सनातन धर्मप्रति आस्था राख्ने स्थानीय, मातृशक्ति र युवाहरूको बाक्लो उपस्थितिले मन्दिर परिसर खचाखच भरिएको थियो।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको शंखध्वनि प्रतियोगितामा ११ जना सहभागीले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा नमोबुद्ध–८ का रामचन्द्र अधिकारी प्रथम, नैमिषारण्य गुरुकुलका कृष्ण नेपाल द्वितीय र नमोबुद्ध–२ का सुनिल अधिकारी तृतीय हुन सफल भए। विजेताहरूलाई क्रमशः रु. २,०००, रु. १,५०० र रु. १,००० नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    वैदिक मान्यताअनुसार शंखध्वनिले वातावरण शुद्ध पार्ने, रोगका किटाणु नष्ट गर्ने तथा नकारात्मक ऊर्जा हटाउने विश्वास गरिन्छ। सोही आध्यात्मिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायमा धार्मिक चेतना र एकताको भावना अझ मजबुत बनाएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार