काठमाडौं, ३२ असार । मुग्लिङ–नागढुंगा सडकखण्ड (पृथ्वी राजमार्ग) अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा ठूलो सुख्खा पहिरो खस्दा राजमार्ग दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार साँझ करिब ६:२० बजे सडकमाथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खसेपछि काठमाडौं–पोखरा जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भई पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने कार्यमा जुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सडक विभागसँग समन्वय गरेर आवश्यक उपकरण प्रयोग गरी पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
पहिरोका कारण काठमाडौं, पोखरा तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्।
यसैबीच, नेपाल प्रहरीले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
उता जिल्ला प्रशासन कार्यालय धादिङले जवाङ खोलाको क्षेत्रमा ठूलो पहिरो खसेको र अझै पहिरो झर्ने क्रम जारी रहेकाले थप जोखिम उत्पन्न भएको जनाएको छ। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै प्रशासनले सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ।
प्रशासनले पहिरो पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म उक्त सडक प्रयोग नगर्न तथा सम्बन्धित निकायबाट आउने आधिकारिक सूचना पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस