धनगढी, ४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएपछि प्रहरी र सम्बन्धित निकायले खोजी अभियान तीव्र बनाएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल निवासी ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए।
प्रहरीका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
उनीहरू नौ जना र पाँच जनाको गरी दुई समूहमा विभाजन भएर च्याउ खोज्न जंगलतर्फ गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। निर्धारित समयमा घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। जंगल क्षेत्रको कठिन भूगोललाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन महिलाहरूको अवस्था भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले खोजी जारी रहेको र थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस