काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिकालाई “कृषि शहर”को रूपमा विकास गर्ने उद्देश्यसहित यही वैशाख २५ र २६ गते दुई दिने कृषि मेला आयोजना हुने भएको छ। पाँचखाल नगरपालिका र लवग्रीन नेपाल नामक संस्थाको संयुक्त आयोजनामा हुन लागेको उक्त मेलाले स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार, मेलामा सहभागी हुन कृषक दाजुभाइ तथा दिदीबहिनीलाई आफूले उत्पादन गरेका कृषि उपजसहित उपस्थित हुन आग्रह गरिएको छ। साथै, सर्वसाधारणलाई पनि मेलामा सहभागी भई अवलोकन तथा लाभ लिन अनुरोध गरिएको छ।
मेलामा विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। जसमा बाली शिविर सञ्चालन, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरूको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषकहरूसँग प्रत्यक्ष संवाद, आईपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री लगायत रहेका छन्। त्यस्तै, पाँचखाल क्षेत्रमा उत्पादन हुने आलु लगायत अन्य कृषि उपजहरूको विशेष परिकार पनि प्रस्तुत गरिनेछ।
उत्कृष्ट कृषक तथा कृषक समूहलाई पुरस्कार तथा सम्मान गर्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रम बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ।
मेला कृषि उपज संकलन केन्द्र परिसर, बोहोरे दोभान जाने बाटो, तल्लोटामाटे चोकमा आयोजना हुने बताइएको छ। यस प्रकारका कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउनुका साथै कृषकलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस