२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

अनुशासन र स्वस्थ जीवनशैलीको सन्देश दिँदै ज्ञानकुञ्जको रोड रेस


४७०७ पाठक संख्या
  • २०८३ बैशाख २७, आईतबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक ।सकारात्मक सोच, दृढ इच्छाशक्ति र निरन्तर परिश्रममार्फत शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले छैटौँ रोड रेस प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ । एसईई परीक्षा सकिएपछि खाली समयमा भड्किन सक्ने विद्यार्थीलाई सही मार्गदर्शन, अनुशासन र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यसहित वैशाख २६ गते शनिबार प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतिष्ठानले “Kill Addiction, Stay Healthy” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजना गरेको रोड रेसमा विद्यार्थी, अभिभावक, शिक्षक, खेलकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    कार्यक्रमको पहिलो चरण बनेपाको तीनदोबाटोबाट सुरु गरिएको थियो । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले रोड रेसको उद्घाटन गरेकी थिइन् ।

    बनेपा तीनदोबाटोबाट सुरु भएको रेस चण्डेश्वरी मन्दिरको परिक्रमा गर्दै प्रतिष्ठान परिसरमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगिताको दोस्रो चरण पनौती बसपार्कबाट सुरु गरिएको थियो । उक्त रेस पनि विभिन्न सडक खण्ड पार गर्दै प्रतिष्ठानसम्म आइपुगेको थियो ।

    तेस्रो तथा समापन चरणको कार्यक्रम पनि विशेष उत्साहका साथ सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा गणपति उपस्थित थिए भने प्रमुख सेनानी झलक सुवेदीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्दै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा केवल पुस्तकमा सीमित हुन नहुने धारणा राखे । उनले व्यवहारिक, जीवनोपयोगी तथा अनुशासित शिक्षाको आवश्यकता औँल्याउँदै विद्यार्थीलाई खेलकुदमार्फत सकारात्मक सोच र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न रोड रेस आयोजना गरिएको बताए ।

    उनले एसईईपछि विद्यार्थीहरू गलत संगत, दुव्र्यसन तथा कुलतमा फस्ने जोखिम बढ्ने भएकाले यस्ता सिर्जनात्मक तथा प्रेरणामूलक गतिविधिले उनीहरूलाई सही दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गरे ।

    प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।एसईई दिएर बसेका विद्यार्थीहरु सहभागी प्रतियोगितामा छात्रातर्फ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका तुलसा गौतम र छात्रतर्फ चण्डेश्वरी सृष्टिकान्त मा.वि.बनेपाका अभिशेक जर्घामगर प्रथम भएका हुन् ।

    छात्रातर्फ ग्रेसल्याण्ड मा.वि. बनेपाबाट पार्वती श्रेष्ठ दोस्रो र चण्डेश्वरी सृष्टिकान्त मा.वि. बनेपाबाट समिता अधिकारी तेस्रो भए । छात्रतर्फ शङ्खेश्वरी मा.वि.का अनिस खत्री दोस्रो र सिद्धार्थ वनस्थली पनौतिबाट दावा शेर्पा तेस्रो भएका थिए ।

    विजेता विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रथम हुनेलाई नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ तथा तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

    समापन कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर, विद्यालय सञ्चालक आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भूजेल, बनेपा नगर प्याब्सन अध्यक्ष महेन्द्र विष्ट, सहायक कलेज प्रमुख नवराज चौलागाईं, सहायक प्रिन्सिपल नमराज दाहाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँती, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष झु, सशस्त्र प्रहरी निरीक्षक विजय केसी, विभिन्न स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विगत केही वर्षदेखि विद्यार्थीमा सकारात्मक ऊर्जा, नेतृत्व क्षमता, अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । आयोजकका अनुसार रोड रेसले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै शारीरिक रूपमा तन्दुरुस्त र मानसिक रूपमा सशक्त बन्न प्रेरणा दिने विश्वास गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार