काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिएर लामो समयदेखि भुक्तानी नगर्ने सदस्यहरूलाई लक्षित गर्दै कडा चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिकाले भाखा नाघेका ऋणका कारण सहकारी संस्थाहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको भन्दै सम्बन्धित ऋणी सदस्यलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको हो।
गाउँपालिकाको कार्यालय डाँडाखर्क भञ्ज्याङद्वारा जारी सूचनामा पछिल्लो समय सहकारी संस्थाहरूमा ऋण नतिर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। केही सदस्यले ऋण लिएपछि लामो समयसम्म सम्पर्कविहीन हुने, ताकेता गर्दा पनि बेवास्ता गर्ने तथा पटक–पटकको अनुरोधलाई अटेर गर्ने गरेको भन्दै गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ।
विभिन्न सहकारी संस्थाबाट प्राप्त गुनासो तथा जानकारीका आधारमा गाउँपालिकाले सहकारी क्षेत्रको अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकालेको जनाएको छ। सहकारी संस्थाहरूमा ऋण असुली प्रभावकारी हुन नसक्दा बचतकर्ताको रकम फिर्ता गर्नसमेत समस्या उत्पन्न हुन थालेको र यसले समग्र सहकारी प्रणालीप्रति नागरिकको विश्वास कमजोर बन्न सक्ने अवस्था सिर्जना भएको गाउँपालिकाको भनाइ छ।
यसै सन्दर्भमा गाउँ कार्यपालिकाको २०८३ वैशाख २९ गते बसेको बैठकले भाखा नाघेका ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै सार्वजनिक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ।
सूचनामा सम्पूर्ण ऋणी सदस्यलाई १५ दिनभित्र सम्बन्धित सहकारी संस्थामा सम्पर्क गरी आफ्नो बाँकी ऋण चुक्ता गर्न अनुरोध गरिएको छ। तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआए वा ऋण नतिरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ।
गाउँपालिकाले सहकारी संस्थाहरूलाई स्थानीय आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै यस क्षेत्रलाई पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउन सबै सदस्य सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएको छ। सहकारीमा देखिएको समस्या समाधानका लागि स्थानीय तह, सहकारी संस्था र सदस्यबीच समन्वय आवश्यक रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय देशभर सहकारी क्षेत्रमा आर्थिक संकट गहिरिँदै गएको, बचतकर्ताको रकम फिर्ता हुन नसकेको तथा कतिपय सहकारी संस्थामा अनियमितता देखिएको अवस्थामा चौँरीदेउराली गाउँपालिकाको यो कदमलाई सहकारी क्षेत्र व्यवस्थित बनाउन गरिएको सक्रिय पहलका रूपमा हेरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत महान बस लामाद्वारा हस्ताक्षरित उक्त सूचना सार्वजनिक भएपछि स्थानीय सहकारी क्षेत्र र ऋणी सदस्यहरूबीच यसको व्यापक चर्चा सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस