२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सामुदायिक विद्यालयतर्फ पाँचखाल नगर प्रथम बन्दै चम्किइन् मानवी अधिकारी


२३४५३ पाठक संख्या
  • २०८३ जेष्ठ १, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । सर्वमंगला माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पाँचखाल नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उल्लेखनीय सफलता प्राप्त गरेको छ । विद्यालयले उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेको हो ।

    विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा छात्रातर्फ पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमध्ये सर्वाधिक ३.९६ जिपिए ल्याएर नगर प्रथम बन्न सफल मानवी अधिकारीलाई विशेष सम्मान गरिएको थियो । मानवीको उपलब्धिसँगै विद्यालयले यस वर्ष हासिल गरेको नतिजाले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ मजबुत बनेको स्थानीयको भनाइ छ ।

    यस वर्ष सर्वमंगला माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये १९ जना छात्रा र ११ जना छात्र रहेका छन् । विद्यालयले सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि विद्यालय परिवारमा उत्साह थपिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा पाँचखाल नगरपालिका का सामाजिक विकास संयोजक एवं वडा नं. ३ का वडा अध्यक्षले सामुदायिक विद्यालयहरुले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको बताउनुभयो । उहाँले सर्वमंगला माध्यमिक विद्यालयले हासिल गरेको सफलता केवल विद्यालयको मात्र नभई समग्र पाँचखाल नगरकै गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

    उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याएर प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्न सक्ने उदाहरण सर्वमंगला विद्यालयले प्रस्तुत गरेको बताउँदै विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई दिनुभयो । साथै आगामी दिनमा नगरपालिकाबाट शिक्षा क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक जयराम अधिकारी ले विद्यालयको सफलता विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको समर्पण र अभिभावकहरुको विश्वास तथा सहयोगको प्रतिफल भएको बताउनुभयो । उहाँले विद्यालयले केवल परीक्षाफलमा मात्र नभई अनुशासन, नैतिक शिक्षा र व्यवहारिक ज्ञानमा समेत विद्यार्थीलाई सक्षम बनाउने लक्ष्यसहित शिक्षण सिकाइ गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

    प्रधानाध्यापक अधिकारीले आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयप्रतिको सकारात्मक धारणा विस्तार हुँदै गएको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि शिक्षक, अभिभावक, स्थानीय समुदाय तथा नगरपालिकाको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

    नगर प्रथम बन्न सफल मानवी अधिकारीका वुवा महेश अधिकारी ले छोरीको सफलताले आफूहरूलाई गर्वको अनुभूति गराएको बताउनुभयो । उहाँले विद्यार्थीको सफलतामा विद्यालय, शिक्षक र अभिभावकबीचको समन्वय महत्वपूर्ण हुने उल्लेख गर्दै सामुदायिक विद्यालयमा पनि उत्कृष्ट शैक्षिक वातावरण निर्माण भइरहेको बताउनुभयो ।

    उहाँले विद्यार्थीहरुलाई नियमित अध्ययन, अनुशासन र मेहनतलाई निरन्तरता दिन आग्रह गर्दै अभिभावकहरुले पनि बालबालिकाको पढाइप्रति निरन्तर चासो दिनुपर्नेमा जोड दिनुभयो ।

    विद्यालयका शिक्षक सर्वोत्तम गिरी ले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली विषयकी शिक्षिका सत्यवती भट्टराई ले नेपाली विषयमा उत्कृष्ट अंक हासिल गर्ने दुई विद्यार्थीलाई जनही एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाली शिक्षक सत्यवती भट्टराईले नेपाली बिषयमा उत्कृष्ट अङ्क हासिल गर्ने दुई विद्यार्थीलाई नगद एक/एक हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।
    विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती भेटवाल, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले सर्वमंगला माध्यमिक विद्यालयले प्राप्त गरेको सफलता सामुदायिक विद्यालयका लागि प्रेरणादायी उदाहरण भएको प्रतिक्रिया दिएका थिए ।

    सम्मान कार्यक्रमले विद्यार्थीहरुमा थप आत्मविश्वास, उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागीहरुको भनाइ रहेको छ । विद्यालयले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार