२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

काठमाडौं–बनेपामा कन्सल्टेन्सी ठगी प्रकरण : रास्वपा सभापतिसहित सञ्चालक नियन्त्रणमा


५२७९ पाठक संख्या
  • २०८३ जेष्ठ २, शनिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं/ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिना इजाजत तथा दर्ताविना अवैध रूपमा शैक्षिक परामर्श सेवा (कन्सल्टेन्सी) सञ्चालन गरी विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शुक्रबार एकैसाथ ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विद्यार्थी तथा अभिभावकबाट रकम असुली भइरहेको उजुरी र गुनासोका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे, चौरीदेउराली गाउँपालिकाका सभापति श्रीमान लामा समेत रहेका छन्। उनी हालै मात्र पार्टीको गाउँपालिका सभापतिमा चयन भएका थिए। प्रारम्भिक अनुसन्धानमा उनले पनि बिना दर्ता कन्सल्टेन्सी सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका सञ्चालकहरूले सरकारी मापदण्ड पूरा नगरी, दर्ता तथा नवीकरणसमेत नगरी शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण जस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए।

    यसअघि काभ्रेका १३ वटा शैक्षिक परामर्श केन्द्रको अनुगमनका क्रममा कैफियत भेटिएपछि २ वटा शिलबन्दी गरिएको थियो। तर यसपटक प्रहरीले व्यापक कारबाही गर्दै सञ्चालकहरूलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

    प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकामा शैक्षिक परामर्शका नाममा ठगीका घटना बढ्दै गएको देखिएको छ। उनले यस्ता अवैध कन्सल्टेन्सीबाट ठगीमा परेका सर्वसाधारण तथा विद्यार्थीहरूलाई प्रमाणसहित प्रहरीको सम्पर्कमा आउन आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार