तनहुँ । तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१४ रुम्सी निवासी १९ वर्षीया ललिसा थापा को चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घरको आँगनमा बसिरहेको समयमा अचानक परेको चट्याङले थापा गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेपछि परिवार तथा स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याएका थिए ।
अस्पतालमा उपचार भइरहेका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की ले जानकारी दिएका छन् ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा मौसम परिवर्तनसँगै हावाहुरी र चट्याङका घटना बढ्दै गएका छन् । विशेषगरी वर्षायाम सुरु हुने समयमा चट्याङका कारण मानवीय क्षति बढ्न थालेपछि मौसम खराब भएका बेला खुला स्थानमा नबस्न तथा सुरक्षित स्थानमा बस्न विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस