काठमाडौं । नेपाल नापित समाजको १७औँ स्थापना दिवस आज जेठ ४ गते सोमबार धार्मिक आस्था, सामाजिक एकता र संगठनात्मक सुदृढीकरणको सन्देशसहित भव्य रूपमा सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसरमा कार्यविनायक मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न गर्दै प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम नेपाल नापित समाजका अध्यक्ष ज्ञानबहादुर नापितको सभापतित्व तथा संस्थापक अध्यक्ष पुरुषोत्तम नापितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका सल्लाहकार नारायण नापित, महासचिव राजेन्द्र नापित लगायत वक्ताहरूले स्थापना दिवसको महत्व, नापित समाज स्थापना गर्नु परेको ऐतिहासिक आवश्यकता, समुदायको एकता, पहिचान तथा हक–अधिकार संरक्षणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष जगदिश्वर नापितले स्वागत मन्तव्य व्यक्त गर्दै नापित समुदायको सामाजिक योगदान तथा संगठनात्मक सुदृढीकरणको आवश्यकता माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम सञ्चालन समाजका सचिव राजेन्द्र नापितले गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाबाट नापित समुदायका प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले समाजलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै आगामी दिनमा युवापुस्तालाई समेत सक्रिय रूपमा समेट्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति ज्ञानबहादुर नापितले सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस