काभ्रेपलाञ्चोक । जिल्लाको पाँचखाल नगरपालिका–०४ तामाघाट क्षेत्रमा लुकीछिपी बस्दै आएका २५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–०२ निवासी ३७ वर्षीय डोमा उराव रहेका छन् ।
उराव जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर हुँदै २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । अदालतको फैसला कार्यान्वयनका क्रममा उनी कारागारमा रहे पनि जेन्जी आन्दोलनका बेला सुनसरीस्थित झुम्का कारागार बाट फरार भएका थिए । त्यसयता उनी लामो समयदेखि फरार रहँदै विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाएको नेपाल प्रहरीले विशेष सूचनाका आधारमा काभ्रेको तामाघाट क्षेत्रमा उनी लुकेर बसेको जानकारी प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास अभियान सञ्चालन गरेको थियो ।
प्रहरी टोलीले तामाघाट क्षेत्रमा शंकास्पद गतिविधिमा रहेका उरावलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी अदालतबाट सजाय तोकिएका फरार अभियुक्त रहेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ ।
लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासीले प्रहरी टोलीको सक्रियता र कार्यक्षमताको प्रशंसा गरेका छन् । पछिल्लो समय विभिन्न जिल्लाबाट फरार अपराधीहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई प्रहरीले थप प्रभावकारी बनाएको बताइएको छ ।
प्रहरीका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार अभियुक्तविरुद्धको खोजी तथा पक्राउ अभियान आगामी दिनमा अझ सशक्त रूपमा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस