२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

महत्वपूर्ण काम थियो’ भन्दै बजेट बैठक छाडे हर्क साम्पाङ


२३६७ पाठक संख्या
  • २०८३ जेष्ठ १५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद बैठकबाट बाहिरिएका छन् ।

    संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले सरकारको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिरहेका बेला साम्पाङ बैठक कक्षबाट बाहिरिएको दृश्यले केही समय राजनीतिक वृत्तमा चर्चा पाएको थियो ।

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै साम्पाङले आफूलाई अर्को महत्वपूर्ण काम परेकाले बैठक छाड्नुपरेको बताएका छन् ।

    उनले भने, “मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम थियो, त्यसैले बाहिरिएको हुँ ।”साम्पाङको उक्त अभिव्यक्तिपछि उनको बाहिरिनुलाई लिएर विभिन्न अड्कलबाजी भए पनि उनले त्यसलाई कुनै राजनीतिक असन्तुष्टि वा विरोधसँग नजोड्न आग्रह गरेका छन् ।

    पछिल्लो समय वैकल्पिक राजनीतिक धारका नेताका रूपमा चर्चामा रहेका साम्पाङ संसद तथा सार्वजनिक मञ्चमा आफ्ना स्पष्ट र फरक शैलीका अभिव्यक्तिका कारण चर्चामा रहने गरेका छन् । स्थानीय तहमा जनश्रम अभियान, खानेपानी व्यवस्थापन तथा स्वतन्त्र शैलीको राजनीतिक अभ्यासमार्फत उनी राष्ट्रिय राजनीतिमा समेत फरक पहिचान बनाउन सफल भएका छन् ।

    उता, सरकारले प्रस्तुत गरिरहेको आगामी आर्थिक वर्षको बजेटलाई भने अर्थतन्त्र सुधारको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ । आर्थिक सुस्तता, घट्दो राजस्व संकलन, वैदेशिक रोजगारीमा निर्भरता र विकास खर्चको कमजोर अवस्थाबीच आएको बजेटले रोजगारी सिर्जना, उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

    संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, सांसदहरू तथा विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बजेट सार्वजनिक भएसँगै अब त्यसमाथि संसदमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार