२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

‘चरित्र हत्या स्वीकार्य छैन’ : सांसद चौलागाईको पक्षमा एमाले तेमालको विज्ञप्ति


३१२१ पाठक संख्या
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित १ महिना अघि
  • तेमल, काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेमाल गाउँपालिका कमिटीले क्षेत्र नं. १ का संघीय सांसद मधु कुमार चौलागाई विरुद्ध सामाजिक सञ्जालमार्फत लगाइएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन, कपोलकल्पित तथा प्रमाणविहीन आरोप लगाएर जनप्रतिनिधिको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो।

    विज्ञप्तिमा एमाले तेमाल गाउँपालिका कमिटीका अध्यक्ष सत्यमान लामा द्वारा हस्ताक्षरित भनिएको सामाजिक सञ्जालको एक सामग्रीमा सांसद चौलागाई लाई लक्षित गर्दै विभिन्न आरोप लगाइएको उल्लेख गर्दै त्यस्ता आरोपले समाजमा भ्रम फैलाउने र जनप्रतिनिधिप्रति जनविश्वास कमजोर पार्ने कार्य भएको बताइएको छ।

    एमालेले कुनै पनि व्यक्तिमाथि तथ्य, प्रमाण र आधारबिना सार्वजनिक रूपमा चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाउनु निन्दनीय र गैरजिम्मेवार कार्य भएको जनाएको छ। विज्ञप्तिमा जिम्मेवार राजनीतिक व्यक्तित्व तथा जनप्रतिनिधिलाई लक्षित गरी गरिने यस्ता अभिव्यक्तिले लोकतान्त्रिक मूल्य–मान्यता र सभ्य राजनीतिक संस्कृतिमाथि नै प्रहार गर्ने उल्लेख गरिएको छ।

    पार्टीले आरोप लगाउने पक्षलाई आफ्नो दाबी पुष्टि गर्ने ठोस प्रमाण भए सार्वजनिक गर्न र कानुनी प्रक्रियामा जान चुनौती दिएको छ। अन्यथा निराधार आरोप लगाएर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य तत्काल बन्द गरी सार्वजनिक रूपमा माफी माग्न समेत आग्रह गरिएको छ।

    एमाले तेमालले राजनीतिक प्रतिस्पर्धा विचार, नीति र जनसेवाका आधारमा हुनुपर्नेमा जोड दिँदै व्यक्तिगत प्रतिष्ठामाथि प्रहार गर्ने, चरित्र हत्या गर्ने तथा समाजमा भ्रम फैलाउने गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेको छ। जिम्मेवार राजनीतिक व्यक्तिहरूबाट यस्ता अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको पनि विज्ञप्तिमा उल्लेख छ।

    पार्टीले भविष्यमा पनि यस्ता कपोलकल्पित, भ्रामक र प्रमाणहीन अभिव्यक्ति दोहोरिए सम्बन्धित व्यक्ति तथा समूहविरुद्ध आवश्यक कानुनी र राजनीतिक कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

    एमाले तेमाल गाउँपालिका कमिटीले सत्य, तथ्य र जिम्मेवार राजनीतिक अभ्यासको पक्षमा उभिँदै समाजमा अनावश्यक भ्रम र द्वन्द्व सिर्जना गर्ने गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता औँल्याएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार