२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पाँचखालमा सुरक्षा चुनौती : दिउँसै घर फोडेर चोरीको प्रयास


१८८२५ पाठक संख्या
  • २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक, पाँचखाल — पाँचखाल नगरपालिकाका विभिन्न स्थानहरूमा पछिल्ला दिनहरूमा चोरीका घटना निरन्तर रूपमा बढ्दै गएका छन्। विगतमा भएका धेरै घटनाहरूमा सुनचाँदी तथा नगद रकम चोरी भएको पाइएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। यसै कारण कतिपयले घरमा मूल्यवान गरगहना तथा नगद रकम राख्न समेत छोडेको स्थानीयवासीहरू बताउँछन्।

    यसैबीच, आज पाँचखाल नगरपालिका–६ स्थित जैसिदी थुम्काली क्षेत्रमा एक घरमा चोरीको प्रयास भएको छ। दिउँसो घरमा कोही नभएको मौकामा अज्ञात व्यक्तिले घरको मूल ढोका, ताला, हत्था र कब्जा फुटाई भित्र प्रवेश गरेको पाइएको छ। त्यसपछि भित्र रहेका कोठा तथा दराजसमेत तोडफोड गरिएको स्थानीयले बताएका छन्।

    स्थानीय केदार नापितका अनुसार चोरले घरभित्र प्रवेश गरी खानतलासी गर्ने क्रममा दराज फोडिएको भए पनि धनमाल भने चोरी हुन नपाएको हो। प्रारम्भिक अनुमानअनुसार चोरले सुनचाँदी वा नगद फेला पार्न नसकेपछि ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

    घटनाका क्रममा घरमा कोही व्यक्ति उपस्थित नभएको अवसरमा चोरीको प्रयास गरिएको हो। ताला फुटाएर घरभित्र प्रवेश गरिएको स्पष्ट देखिएको स्थानीयवासीहरूको भनाइ छ।

    घटनापछि स्थानीयवासीले तत्काल पाँचखाल प्रहरी चौकीलाई जानकारी गराएका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक प्रारम्भिक अनुसन्धान तथा सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।

    पछिल्ला दिनहरूमा पाँचखाल क्षेत्रमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासीहरूमा सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ। लगातारका घटनाले समुदायमा त्रास फैलिएको र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरी संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणका लागि काम अघि बढाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार