काभ्रे, बनेपा । सामाजिक सञ्जालमा भाइरल भएको बनेपा नगरपालिकाको तीनदोबाटो क्षेत्रमा विद्यार्थीहरूबीच भएको भनिएको ‘ग्याङ फाइट’ घटनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले गम्भीर रूपमा लिँदै ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा सम्झाइ–बुझाइ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेठ १३ गते साँझ करिब ७ बजे बनेपा नगरपालिका–७ स्थित तीनदोबाटो क्षेत्रमा विद्यार्थी समूहबीच झैँझगडा भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न बनेपा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सोधपुछ तथा आवश्यक अनुसन्धान गरिएको हो। घटनामा संलग्नमध्ये २ जना कक्षा ९ मा, ५ जना कक्षा १० मा तथा १ जना कक्षा ११ मा अध्ययनरत रहेका छन्। उनीहरूको उमेर समूह हेर्दा १५ वर्षका ४ जना, १६ वर्षका ३ जना र १७ वर्षका १ जना रहेका प्रहरीको भनाइ छ।
प्रहरीले विद्यार्थीहरूको उमेर, शैक्षिक अवस्था तथा भविष्यलाई मध्यनजर गर्दै सम्बन्धित अभिभावक र विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक परामर्श तथा चेतनामूलक सम्झाइ–बुझाइ गरिएको जनाएको छ। साथै, आगामी दिनमा यस्ता कुनै पनि प्रकारका झैँझगडा, असामाजिक तथा उच्छृङ्खल गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गराई जिम्मा लगाएर पठाइएको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अभिभावक, विद्यालय प्रशासन तथा समुदायलाई बालबालिका र किशोर–किशोरीहरूको व्यवहार, संगत तथा गतिविधिप्रति थप जिम्मेवार र सचेत बन्न आग्रह गरेको छ।
हालका दिनमा सामाजिक सञ्जालको प्रभाव, समूहगत प्रतिस्पर्धा र देखासिकीका कारण किशोरहरूबीच हुने झैँझगडाका घटना बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न अभिभावक, विद्यालय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस