काभ्रेपलाञ्चोक ।पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले देशमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि राज्य सञ्चालनको मूल प्रणालीमा अपेक्षित सुधार आउन नसकेको बताउनुभएको छ। उहाँले नागरिक समाज, सञ्चार क्षेत्र र राजनीतिक नेतृत्वबीचको दूरी बढ्दै जाँदा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्नुभएको छ।
सम्पादक समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै मेयर भण्डारीले शासन व्यवस्था परिवर्तन मात्र पर्याप्त नहुने, राज्यको सोच, कार्यशैली र प्रणालीमा समेत परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले २०६२/६३ को जनआन्दोलनपछिको सामाजिक र राजनीतिक परिवेश स्मरण गर्दै पत्रकारिता, नागरिक समाज र बौद्धिक वर्गको भूमिका क्रमशः कमजोर बन्दै गएको बताउनुभयो। “पहिले समाजका मुद्दा सञ्चार माध्यममार्फत शक्तिशाली रूपमा उठाइन्थ्यो, जसले शासकलाई जिम्मेवार र जवाफदेही बनाउँथ्यो,” उहाँले भन्नुभयो, “तर अहिले सामाजिक सञ्जालको प्रभाव र भाइरल संस्कृतिले गम्भीर विषयहरूलाई ओझेलमा पार्ने काम गरिरहेको छ।”
मेयर भण्डारीले कृत्रिम बौद्धिकता (एआई) तथा आधुनिक प्रविधिको उपयोग आवश्यक भए पनि त्यसप्रतिको अन्धनिर्भरताले मानिसको मौलिक सोच, अनुसन्धान र विश्लेषण क्षमतामा असर पारिरहेको धारणा व्यक्त गर्नुभयो। प्रविधि मानव जीवनलाई सहज बनाउने माध्यम भए पनि त्यसले सिर्जनशीलतालाई विस्थापित गर्न नहुने उहाँको भनाइ थियो।
उहाँले युट्युब तथा सामाजिक सञ्जालमा बढ्दो सनसनीपूर्ण सामग्रीप्रति पनि चिन्ता व्यक्त गर्दै समाजका वास्तविक समस्या र समाधानमाथि केन्द्रित बहसको आवश्यकता औँल्याउनुभयो। “भाइरल सामग्रीको भीडमा समाजका गम्भीर प्रश्नहरू हराइरहेका छन्,” उहाँले भन्नुभयो।
कार्यक्रममा बोल्दै मेयर भण्डारीले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज, सञ्चारकर्मी, सम्पादक, बौद्धिक वर्ग र राजनीतिक नेतृत्वबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले नागरिक अधिकार, सुशासन र सामाजिक उत्तरदायित्वका पक्षमा सञ्चार क्षेत्रले पुनः सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“समाजलाई सही दिशा दिने जिम्मेवारी सबैको साझा हो,” उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व, सञ्चार क्षेत्र र नागरिक समाज एकजुट हुन सके मात्र लोकतन्त्र बलियो बन्छ र समाजलाई सम्भावित दुर्घटनाबाट जोगाउन सकिन्छ।”
प्रतिक्रिया दिनुहोस