२०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

‘अन्धभक्तिले राजनीति बिगार्छ’ : रास्वपाका कार्यकर्तालाई गगनको चेतावनी


९११ पाठक संख्या
  • २०८३ अषाढ ७, आईतबार मा प्रकाशित ५ घण्टा अघि
  • चितवन, असार ७ । नेपाली कांग्रेसका महामन्त्री गगण कुमार थापाले राजनीतिक दलहरूले आफ्ना नेतालाई ‘भगवान्’ वा ‘बा’ बनाउने संस्कृतिका कारण नेपाली राजनीतिमा विकृति मौलाएको टिप्पणी गर्दै नयाँ राजनीतिक शक्तिहरूलाई त्यस्तो गल्ती नदोहोर्‍याउन आग्रह गर्नुभएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै थापाले लोकतन्त्रको वास्तविक शक्ति नेतृत्वप्रतिको अन्धभक्तिमा नभई नेतृत्वलाई निरन्तर प्रश्न गर्ने संस्कृतिमा निहित रहेको बताउनुभयो।

    “सुशासन तपाईंहरूको मुख्य मन्त्र हो,” उहाँले भन्नुभयो, “हामीले विगतमा हाम्रा नेतालाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसक्यौं। त्यसको मूल्य देशले चुकायो। त्यसैले तपाईंहरूले आफ्नो नेतृत्वलाई सधैं प्रश्न गर्ने साहस राख्नुपर्छ।”

    चितवनको सडकदेखि सभास्थलसम्म निलो झन्डाले ढाकिएको दृश्य र हजारौं प्रतिनिधि देशको भविष्यबारे बहस गर्न जुटेको अवस्थाले आफूलाई उत्साहित बनाएको उल्लेख गर्दै उहाँले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    ‘विगतलाई गाली गरेर भविष्य बन्दैन’

    महामन्त्री थापाले नयाँ राजनीतिक शक्तिहरूले परिवर्तनको अभियान चलाउँदा विगतका संघर्ष, उपलब्धि र बलिदानलाई अस्वीकार गर्न नहुनेमा विशेष जोड दिनुभयो।

    “विगत ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य गलत हो,” उहाँले भन्नुभयो, “तपाईंहरू आज बसेको लोकतान्त्रिक धरातल सहिदहरूको बलिदान, जनआन्दोलन र पञ्चायतविरुद्धको संघर्षले निर्माण गरेको हो। त्यो इतिहास बिर्सेर नयाँ राजनीति सम्भव हुँदैन।”

    उहाँले चितवनको माटोमा लोकतन्त्रका लागि बगेको सहिदहरूको रगतको स्मरण गर्दै परिवर्तनको यात्रालाई इतिहाससँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो।

    गरिबी र अक्षमता नै देशका मुख्य शत्रु

    सभापति थापाले वर्तमान नेपालको सबैभन्दा ठूलो चुनौती गरिबी, अज्ञानता, विभेद र प्रशासनिक अक्षमता भएको उल्लेख गर्दै राजनीतिक दलहरूको पहिलो दायित्व नागरिकलाई प्रभावकारी सेवा र सुशासन दिनु रहेको बताउनुभयो।

    उहाँले प्रजातन्त्र, संविधान र विधिको शासनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै जहाँ कानुन र प्रक्रिया मिचिन्छ, त्यहाँ नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने स्पष्ट पार्नुभयो।

    “राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुन सक्छ, विचार फरक हुन सक्छ, तर संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र नागरिकको हितका सवालमा सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।

    रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै थापाले दिएको सन्देशलाई राजनीतिक विश्लेषकहरूले नयाँ र पुराना दलबीचको प्रतिस्पर्धाभन्दा पनि लोकतान्त्रिक संस्कृतिको परिपक्वतामाथिको बहसका रूपमा व्याख्या गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार