२०८३ अषाढ १८, बिहिबार | Thu, 02, Jul, 2026

पाँचखालमा मानव बेचबिखन नियन्त्रण अभियान तीव्र


२२६३ पाठक संख्या
  • २०८३ अषाढ १८, बिहिबार मा प्रकाशित ५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, १८ असार। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय समितिको धारणागत स्पष्टता एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

    पाँचखाल नगरपालिकाको आयोजना, क्याप्टिभेटिङ नेपाल र क्याप्टिभेटिङ इन्टरनेशनलको प्राविधिक सहकार्य तथा ग्लोबल डेभलपमेन्ट ग्रुप (Global Development Group) को सहयोगमा आयोजित उक्त दुईदिने तालिमले नगर तथा वडा तहका स्थानीय समितिलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा थप सक्षम, सक्रिय र प्रभावकारी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउन काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्थानीय समितिको धारणागत स्पष्टता तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। क्याप्टिभेटिङ नेपालको प्राविधिक सहयोगमा आयोजित तालिमले नगर तथा वडा तहका समितिहरूलाई थप सक्षम, सक्रिय र जिम्मेवार बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।

    पाँचखाल नगरपालिकाकी कार्यवाहक प्रमुख सूर्यमाया दनुवारको सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्याप्टिभेटिङ नेपालकी अध्यक्ष तथा शिर मेमोरियल अस्पताल बनेपाकी डा. एन्जेला बस्नेतको प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। शिक्षा शाखा प्रमुख उदय कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा नगरस्तरीय समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. बस्नेतले मानव बेचबिखन रोकथामका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने, समुदायमा चेतना र ज्ञानको विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले क्याप्टिभेटिङ नेपालको ‘क्याप्टिभेटिङ भिलेज’ अवधारणामार्फत पाँचखालमा सामाजिक रूपान्तरणको अभियान अघि बढाइएको जानकारी दिँदै भन्नुभयो, “हाम्रो प्रमुख उद्देश्य मानव बेचबिखनको रोकथाम गर्नु हो। हामीले पाँचखाललाई सकारात्मक परिवर्तन, चेतना र समृद्धिका लागि केही समयका लागि ‘कब्जा’ गरेका छौँ।”

    उहाँले चेतनाको अभावले समाजमा भइरहेका अपराधसमेत पहिचान गर्न नसकिने अवस्था रहेको उल्लेख गर्दै तालिमपछि सहभागीहरू समुदायमै सचेतना फैलाउने अभियानका अग्रदूत बन्ने विश्वास व्यक्त गर्नुभयो। “दिमागमा ज्ञान छैन भने आँखाले पनि देख्दैन। यो तालिमपछि तपाईंहरू समाजमा हुने अप्रिय घटना समयमै पहिचान गरेर रोकथाम गर्न सक्ने विज्ञ बन्नुहुनेछ,” उहाँले भन्नुभयो।

    डा. बस्नेतले संस्थाले मानव बेचबिखन नियन्त्रणसँगै विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्द्धन, विद्यार्थीमैत्री शिक्षण पद्धति तथा सिपमूलक रोजगारी सिर्जनाका क्षेत्रमा समेत निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

    सभाध्यक्ष तथा कार्यवाहक प्रमुख सूर्यमाया दनुवारले मानव बेचबिखनको स्वरूप विगतभन्दा धेरै परिवर्तन भइसकेको बताउँदै अहिले वैदेशिक रोजगारीको प्रलोभन, श्रम शोषण, बालश्रम तथा स्वास्थ्य उपचारको बहानामा अंग बेचबिखनजस्ता जघन्य अपराध बढ्दै गएको उल्लेख गर्नुभयो।

    “पहिले छोरीचेलीलाई भारत लगेर बेच्नु मात्र मानव बेचबिखन हो भन्ने बुझाइ थियो। अहिले यसको स्वरूप बदलिएको छ। वैदेशिक रोजगारी, श्रम शोषण, बालश्रमदेखि मृगौला बेचबिखनसम्मका घटना हाम्रो समाजमै देखिन थालेका छन्। त्यसैले यसको नियन्त्रणमा सबै तह गम्भीर हुनुपर्छ,” उहाँले भन्नुभयो।

    कार्यवाहक प्रमुख दनुवारले क्याप्टिभेटिङ नेपालले चार वर्षे स्पष्ट कार्ययोजना र बजेटसहित नगरपालिका समक्ष प्रस्ताव पेश गरेर सहकार्य गरिरहेको जानकारी दिँदै यो परियोजनालाई नगरपालिकाका सबै १३ वटै वडामा विस्तार गरिने बताउनुभयो। यस अभियानको सफलताका लागि वडा अध्यक्षहरूको सक्रिय भूमिका निर्णायक हुने उहाँको भनाइ थियो।

    “प्रहरी वा जनप्रतिनिधि एक्लैले मात्र मानव बेचबिखनजस्तो विकृति रोक्न सक्दैनन्। यसका लागि समुदाय, स्थानीय सरकार, सुरक्षा निकाय र सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक छ,” उहाँले जोड दिनुभयो।

    कार्यक्रममा सहभागी अन्य वक्ता तथा प्रतिनिधिहरूले मानव बेचबिखन, श्रम शोषण र अन्य सामाजिक अपराध नियन्त्रणका लागि टोल र बस्तीस्तरसम्म पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले यस तालिमले स्थानीय समितिलाई आफ्नो जिम्मेवारीबारे स्पष्टता दिएको र कार्यक्षेत्रमा अझ प्रभावकारी रूपमा परिचालन हुन ऊर्जा प्रदान गरेको धारणा राखे।

    तालिमको सहजीकरण प्रशिक्षक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरिक्षक श्यामकुमार यादब र नानीमैया थापाले गर्नुभएको थियो। नगरपालिकाले यस कार्यक्रमलाई स्थानीय तहबाट मानव बेचबिखन नियन्त्रणका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार