काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा फैलिएको बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। केही सातायता व्यावसायिक पोल्ट्री फार्ममा धमाधम कुखुरा मर्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ४० हजार ७२९ वटा हाँस तथा कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय, धुलिखेलले जनाएको छ।
कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका हाँस र कुखुरा नष्ट गरिएको हो।
प्रारम्भिक अध्ययनअनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण कागलगायत जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको देखिएको कार्यालयको निष्कर्ष छ। यसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको जनाएको छ।
डा. ठाकुरले सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसारमा कडाइ गरिएको जानकारी दिँदै प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमण फैलिने दर बढेको बताए।
उनले व्यावसायिक पोल्ट्री व्यवसायीलाई बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्। कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नै परे आवश्यक सुरक्षा सामग्री प्रयोग गर्ने, खोर तथा उपकरण नियमित रूपमा सफा र निसङ्क्रमण गर्ने तथा कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्न उनले सुझाव दिए।
यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई थप कडा बनाइएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।
यसअघि गत चैतमा देशका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। पछिल्लो सङ्क्रमणसँगै सम्बन्धित निकायहरूले रोग नियन्त्रण, निगरानी र जनचेतनामूलक गतिविधिलाई थप प्रभावकारी बनाएका छन्।




प्रतिक्रिया दिनुहोस