काभ्रेपलाञ्चोक ।धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) ले भोली (शुक्रबार) आफ्नो ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दै १ हजार ५२७ विद्यार्थीलाई विभिन्न तहका उपाधि प्रदान गर्दैछ। धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा हुने समारोहसँगै केयूबाट हालसम्म दीक्षित हुने विद्यार्थीको कुल संख्या ५१ हजार ५६७ पुग्ने भएको छ।
यस वर्ष दीक्षित हुनेमध्ये स्कुल अफ मेडिकल साइन्सेसका ५०४, इन्जिनियरिङका ३५५, साइन्सका २७७, म्यानेजमेन्टका १४६, आर्ट्सका १६१, एजुकेसनका ११२ तथा लका ४२ विद्यार्थी रहेका छन्।
दीक्षित हुने विद्यार्थीमध्ये २१ जना पीएचडी, डीएम तथा एमसीएच, ९३ जना एमफिल तथा मास्टर बाइ रिसर्च, २७९ जना स्नातकोत्तर, २ जना पोस्टग्राजुएट डिप्लोमा इन एजुकेसन र १ हजार १३२ जना स्नातक तहका छन्। उनीहरूमध्ये ८०० पुरुष (५२.३९ प्रतिशत) र ७२७ महिला (४७.६१ प्रतिशत) रहेका छन्।
यसपटक अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र संयुक्त राज्य अमेरिकाका १७९ अन्तर्राष्ट्रिय विद्यार्थी पनि दीक्षित हुँदैछन्।
केयूले यस वर्ष पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स, डाक्टर अफ मेडिसिन इन नियोनेटोलोजी तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलिकुलर बायोलोजी कार्यक्रमका विद्यार्थीलाई उपाधि प्रदान गर्ने भएको छ।
समारोहका प्रमुख अतिथि भारतका प्रख्यात वैज्ञानिक तथा शिक्षाविद् प्रा. भूषण पटवर्धन रहनेछन्। उनी डेक्कन कलेज पोस्ट ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति हुन्। आयुर्वेदिक बायोलोजी, आयुर्जेनोमिक्स, रिभर्स फार्माकोलोजी तथा सिस्टम्स आयुर्वेदका क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको विश्वविद्यालयले जनाएको छ।
काठमाडौं विश्वविद्यालयले कर्णालीबाहेक अन्य सबै प्रदेशमा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कार्यक्रम विस्तार गरेको जनाएको छ। चालु शैक्षिक वर्षदेखि काठमाडौं उपत्यकाबाहिरका एक दर्जनभन्दा बढी कलेजलाई सम्बन्धन प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।
यसैगरी, सातै प्रदेशका उत्कृष्ट कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई शिक्षण शुल्कमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने योजना पनि विस्तार गरिएको छ। यो कार्यक्रम विभिन्न प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन भइरहेको विश्वविद्यालयले जनाएको छ।
केयूले यस वर्ष विभिन्न स्कुलअन्तर्गत पीएचडी इन एडल्ट लर्निङ, मास्टर इन इन्डिजिनस एजुकेसन एन्ड डेभलपमेन्ट, डीएम इमर्जेन्सी मेडिसिन, मास्टर अफ फिजियोथेरापी, मास्टर अफ साइकोलोजी, मास्टर अफ क्रिएटिभ टेक्नोलोजी एन्ड मिडिया इनोभेसन, मास्टर अफ फेसन डिजाइन, मास्टर अफ इन्जिनियरिङ इन ग्रीन इन्फ्रास्ट्रक्चर इन्जिनियरिङ लगायतका नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ।
केयूले भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयसँग बहुभाषिक कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल सार्वजनिक पूर्वाधार विकासमा सहकार्य अघि बढाएको जनाएको छ। यस सहकार्यले नेपाली भाषासहित दक्षिण एसियाली भाषामा स्पिच–टु–टेक्स्ट, टेक्स्ट–टु–स्पिच, मेशिन ट्रान्सलेसन तथा अन्य एआई प्रविधिको विकासमा योगदान पुग्ने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ।
विद्यार्थी र प्राध्यापकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विश्वविद्यालयले काउन्सेलिङ सेल सञ्चालन गरिरहेको जनाएको छ। उक्त सेवामार्फत विद्यार्थीले गोप्य र सहानुभूतिपूर्ण वातावरणमा मनोसामाजिक परामर्श प्राप्त गरिरहेका छन्।
केयूले उत्कृष्ट स्नातकका लागि एक वर्षसम्म रोजगारीको सुनिश्चितता गर्ने योजना पनि सञ्चालन गरिरहेको जनाएको छ। अनुसन्धान, प्रयोगशाला, विभागीय तथा प्रशासनिक जिम्मेवारीमार्फत स्नातकलाई व्यावसायिक अनुभव दिलाउने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।
हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयबीच अनुसन्धान, ज्ञान आदानप्रदान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गठन गरिएको हिमालयन युनिभर्सिटी कन्सोर्टियम (HUC) को सचिवालय पनि हाल काठमाडौं विश्वविद्यालयमै रहेको छ। यस सञ्जालमा दक्षिण एसियासहित विभिन्न देशका १०७ विश्वविद्यालय आबद्ध छन्।
विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, अनुसन्धान, प्रविधिमैत्री शिक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउँदै उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आफूलाई अग्रणी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस