काभ्रे, ७ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा आज विहान करिब ११/३० बजे विद्युत् पोल अड्याउन राखिएको स्याण्ड (सपोर्ट वायर) नजिकबाट हिँडिरहेकी भुम्लु गाउँपालिका–७ निवासी ४५ वर्षीया देवी उप्रेतीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक देवी उप्रेती स्थानीय विनोदनाथ उप्रेतीकी श्रीमती हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि घटनास्थल मुचुल्का तथा प्राविधिक अनुसन्धानका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको नेतृत्वमा सिन अफ क्राइम अफिसर (SOCO) सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस