२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

नयाँ बसपार्क हत्या प्रकरण : चोरीको आरोपपछि युवतीको हत्या गरेको प्रहरीको दाबी


२६२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ५ घण्टा अघि
  • सुदिप काफ्ले

    काठमाडौं, साउन ५ — काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दैलेखका रमेश बुढा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानले चोरी भएको रकमको विषयमा भएको विवादपछि बुढाले सुनुवारको हत्या गरेको देखिएको छ।

    प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएकी सुनुवार साउन ३ गते नयाँ बसपार्कस्थित गेस्टहाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। शव पलङभित्र लुकाइएको अवस्थामा भेटिएको थियो।

    अनुसन्धानबाट खुलेअनुसार रमेश बुढा कास्कीबाट आफ्नो घर दैलेख फर्किने क्रममा असार ३१ गते नयाँ बसपार्कमा ओर्लिएका थिए। त्यही क्रममा सडकमा भेटिएकी सुनुवारले होटलमा जान प्रस्ताव गरेपछि उनी गेस्टहाउस पुगेका थिए।

    प्रहरीका अनुसार कोठामा पुगेपछि बुढा नुहाउन बाथरुममा गएका बेला सुनुवारले बाहिरबाट चुकुल लगाएर उनको झोलामा रहेको करिब एक लाख रुपैयाँ लिएर फरार भएकी थिइन्। रकम हराएपछि बुढाले परिवारलाई पैसा लिएर घर फर्किने जानकारी दिइसकेको अवस्थामा आफू ठगिएको महसुस गरेको बयान दिएका छन्।

    त्यसपछि उनले साथी दानबहादुर शाहीसँग सम्पर्क गरी बसपार्क क्षेत्रमा बसेका थिए। भोलिपल्ट अर्थात् असार ३२ गते पुनः बसपार्क क्षेत्रमा भेटिएकी सुनुवारलाई उनले अर्को गेस्टहाउसको कोठामा लगेका थिए।

    प्रहरीका अनुसार कोठाभित्र रकमको विषयमा विवाद हुँदा बुढाले आफ्नै कम्मरको पेटी प्रयोग गरी सुनुवारको घाँटी कसेर हत्या गरेका थिए। अनुसन्धानमा घटनापछि शव पलङभित्र लुकाइएको र घटनास्थलमा प्रमाण लुकाउने प्रयास गरिएको खुलेको छ।

    प्रहरीले घटनापछि बुढाका साथी दानबहादुर शाही पनि सोही कोठामा पुगेको र दुवै जना रातभर त्यहीँ बसेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा शाहीलाई हत्याबारे जानकारी नभएको देखिएको प्रहरीले जनाएको छ। उनलाई पनि सोधपुछका लागि नेपालगञ्जबाट काठमाडौं ल्याइएको भए पनि हालसम्मको अनुसन्धानले हत्यामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको एसएसपी घिमिरेले बताए।

    साउन १ गतेसम्म उक्त कोठा अन्य ग्राहकले समेत प्रयोग गरेका थिए। तर साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि शव फेला परेको थियो।

    प्रहरीले आरोपी रमेश बुढालाई काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिकबाट पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    नोट: अनुसन्धानका क्रममा सार्वजनिक भएका केही विवरण अत्यन्त संवेदनशील प्रकृतिका भएकाले समाचारमा अनावश्यक रूपमा समावेश गरिएको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार