२०८३ श्रावण ९, शनिबार | Sat, 25, Jul, 2026

सेवाग्राहीसँग ८ लाखभन्दा बढी घुस लिएको आरोप : डिभिजन प्रमुख र अधिकृत पक्राउ


५८२५ पाठक संख्या
  • २०८३ श्रावण ९, शनिबार मा प्रकाशित ६ घण्टा अघि
  • जनकपुरधाम, ९ साउन — सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।

    अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ नगद डिभिजन प्रमुख ढकाल बसेको सोफामै फेला पारेको थियो।

    खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद भएपछि बरामद रकम ८ लाख २१ हजार ११५ रुपैयाँ पुगेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

    अख्तियारका अनुसार डिभिजन कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरी भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेका थिए। सोही क्रममा चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    घटनापछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार