२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

जंगली च्याउको विषाक्त असर, पाँचखालका दम्पती बेहोस


७४६३ पाठक संख्या
  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • १३ साउन, काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा जंगली च्याउ खाँदा एक दम्पती गम्भीर बिरामी परेका छन्। विषालु हुनसक्ने जंगली च्याउ सेवन गरेपछि उनीहरू बेहोस अवस्थामा अस्पताल भर्ना भएका हुन्।

    प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ः३० बजे पाँचखाल नगरपालिका–८ खटार निवासी ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती बेली दनुवारले आफ्नै घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएको केही समयमै दुवैजनाको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो।

    लगातार असहज महसुस गर्दै उनीहरू बोल्न नसक्ने र बेहोस हुने अवस्थामा पुगेपछि तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार दुवैको अवस्था गम्भीर रहेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा विषालु जंगली च्याउ सेवनका कारण स्वास्थ्यमा गम्भीर असर परेको हुन सक्ने अनुमान गरिएको छ।

    विशेषज्ञहरूले जंगलमा उम्रिएका च्याउ सुरक्षित वा विषालु हुन् भन्ने सामान्य रूपमा छुट्याउन कठिन हुने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्। विशेषगरी वर्षायाममा जंगली च्याउको सेवनबाट विषाक्त हुने घटना बढ्ने भएकाले थप सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु