१२ साउन, सिरहा। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकै पटक गरेको भेटिएपछि अस्पतालको प्रशासनिक कार्यशैलीमाथि प्रश्न उठेको छ।
सोमबार (साउन १२ गते) अस्पतालको हाजिरी रजिस्टर अवलोकन गर्दा डा. यादवले साउन २८ गतेसम्मको उपस्थितिमा अग्रिम रूपमा हस्ताक्षर गरिसकेको देखिएको हो।
सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्टरमै भविष्यका मितिसम्मको हस्ताक्षर गरिएको भेटिएपछि कर्मचारी उपस्थितिको अभिलेख, कार्यालय अनुशासन तथा सुशासनमाथि गम्भीर प्रश्न उब्जिएको छ। सरकारी कार्यालयमा हाजिरी रजिस्टर कर्मचारीको दैनिक उपस्थितिको आधिकारिक अभिलेख मानिने भएकाले यसरी अग्रिम हस्ताक्षर हुनु प्रशासनिक रूपमा अस्वाभाविक मानिएको छ।
यस विषयमा प्रतिक्रिया माग्दा कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले ‘कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ’ भन्दै सामान्य त्रुटि भएको दाबी गरे। साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिरी कसरी भयो भन्ने प्रश्न दोहोर्याउँदा पनि उनले ‘कहिलेकाहीँ यस्तो गल्ती हुन सक्छ’ भन्दै थप प्रतिक्रिया नदिई फोन काटेका थिए।
घटनाबारे प्रतिक्रिया लिन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवसँग सम्पर्क गर्दा उनले पत्रकार भएको जानकारी पाएपछि आफू छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन।
स्थानीय स्रोतका अनुसार डा. लुस्युनकुमार यादव नगरप्रमुख रामऔतार यादवका छोरा हुन्। उनी करार सेवामा नगर आधारभूत अस्पतालमा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।
घटनाले सरकारी कार्यालयमा हाजिरी व्यवस्थापन, जवाफदेहिता र प्रशासनिक पारदर्शिताबारे पुनः बहस सिर्जना गरेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग पनि उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस