२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

नेपालमा सुरुङ युगको सुरुआत, नागढुङ्गा सुरुङमार्ग आजदेखि सञ्चालनमा


१११९ पाठक संख्या
  • २०८३ श्रावण ११, सोमबार मा प्रकाशित १७ घण्टा अघि
  • काठमाडौं, साउन ११ गते। नेपालीले सुरुङमार्गबाट सवारी चलाउने बहुप्रतीक्षित सपना अन्ततः साकार हुने भएको छ। मुलुकको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायको सुरुआत मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गलाई नेपालको ‘सुरुङ युग’को पहिलो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई. सञ्जय पन्थीका अनुसार सोमबार बिहान आयोजना उद्घाटन गरिनेछ। उद्घाटन समारोहमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको विशेष उपस्थिति रहनेछ भने पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

    यद्यपि उद्घाटनसँगै सबै प्रकारका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। त्यसपछि सुरक्षासम्बन्धी परीक्षण र प्राविधिक मूल्याङ्कनका आधारमा अन्य सवारीसाधनलाई पनि क्रमशः सञ्चालनको अनुमति दिइने आयोजनाले जनाएको छ।

    तीन महिना परीक्षणकाल

    आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनको प्रारम्भिक तीन महिना ‘ट्रायल ओपनिङ पिरियड’ का रूपमा रहनेछ। यस अवधिमा सुरुङभित्रका सबै सुरक्षा प्रणाली, भेन्टिलेसन, प्रकाश, आपत्कालीन उद्धार व्यवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालन खुला गरिनेछ।

    उपनिर्देशक पन्थीका अनुसार निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले आयोजना सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिसकेको छ। अब सुरुङमार्गको सञ्चालन, मर्मत तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजनाकै हुनेछ।

    सम्झौता भन्दा झण्डै दोब्बर समय

    सुरुङमार्ग निर्माण सम्झौता अनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो। तर विभिन्न प्राविधिक चुनौती, कोभिड–१९ महामारी, निर्माण सामग्रीको मूल्यवृद्धि तथा अन्य कारणले आयोजना सम्पन्न हुन ८० महिना लागेको हो।

    आयोजना सम्पन्न गर्न करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। जसमा करिब १७ अर्ब रुपैयाँ निर्माण कार्यमा, २ अर्ब रुपैयाँ विनिमय दर र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण तथा ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहण र मुआब्जामा खर्च भएको आयोजनाले जनाएको छ।

    कुल लागतमध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिएको हो भने जग्गा मुआब्जाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ। आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

    २.६८ किलोमिटर मुख्य सुरुङ

    यस आयोजनाअन्तर्गत २.६८ किलोमिटर (२,६८८ मिटर) लामो मुख्य सुरुङमार्ग निर्माण गरिएको छ। साथै आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै उद्धार सुरुङ पनि निर्माण गरिएको छ, जसले आकस्मिक अवस्थामा यात्रुको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ।

    सरकारले यसअघि नै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म सेवा शुल्क लिने निर्णय गरिसकेको छ। शुल्क सवारीसाधनको प्रकारअनुसार निर्धारण गरिएको छ।

    नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा हुने सवारी जाम उल्लेख्य रूपमा घट्ने, यात्रा समय छोटिने र यातायात थप सुरक्षित तथा सहज हुने अपेक्षा गरिएको छ। यो आयोजना नेपालमा आधुनिक सुरुङमार्ग पूर्वाधारको नयाँ युगको प्रारम्भका रूपमा समेत लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार