२६ साउन, काभ्रेपलाञ्चोक । कोलम्बियामा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने सयौं मानिस अझै बेपत्ता छन्। भूकम्पका कारण देशको पश्चिमी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।
कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। ५७० जना घाइते भएका छन्। यसअघि सरकारले प्रारम्भिक विवरण सार्वजनिक गर्दै १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको उक्त भूकम्प २१औं शताब्दीमा कोलम्बियामा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो। भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेसलगायतका शहरमा भवन तथा संरचनामा व्यापक क्षति पुगेको छ। भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म समेत महसुस गरिएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा पर्ने चोको क्षेत्रको सान होसे डेल पालमारनजिक थियो। भूकम्प करिब १०७ किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पपछि केही घण्टामै कम्तीमा २१ वटा परकम्पसमेत गएका थिए। लगातारका परकम्पका कारण उद्धारकर्मी र स्थानीय बासिन्दामा थप त्रास सिर्जना भएको छ।
भूकम्पपछि कोलम्बिया सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारका सबै संयन्त्र उद्धार, राहत र प्रभावितको पुनःस्थापनामा परिचालन गरिएको बताएका छन्।
‘राष्ट्रिय सरकारले जीवन जोगाउन, प्रभावित समुदायलाई सहयोग गर्न र आवश्यक स्थानमा राहत पुर्याउन आफ्ना सबै संयन्त्र परिचालन गरेको छ,’ उनले भने।
राष्ट्रपति एस्प्रिएल्लाले भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। केही दिनअघि मात्रै राष्ट्रपतिको शपथ लिएका एस्प्रिएल्लाको नयाँ सरकारका लागि यो पहिलो ठूलो राष्ट्रिय संकट बनेको छ।
उद्धारकर्मीहरूले भत्किएका भवनका भग्नावशेषमा मानिसको खोजी गरिरहेका छन्। कतिपय स्थानमा भारी उपकरण पुग्न नसकेपछि उद्धारकर्मीले कंक्रिटका ठूला टुक्रा र अन्य भग्नावशेष हातैले हटाएर मानिसको खोजी गरिरहेका छन्।
स्थानीय अधिकारीका अनुसार कालीमा मात्रै कम्तीमा २० वटा भवन पूर्णरूपमा भत्किएका छन् भने करिब ३८० भवनमा क्षति पुगेको छ। भत्किएका भवनमा मानिस फसेको आशंका गरिएको छ।
कोलम्बियाको प्रमुख कफी उत्पादन क्षेत्र रिसाराल्दामा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। क्षेत्रीय राजधानी पेरेइरामा पनि ठूलो क्षति पुगेको छ।
भाये डेल काउका क्षेत्रमा कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ। मृतकमध्ये तीन जना बालबालिका छन्।
भूकम्पको केन्द्रबिन्दु नजिक पर्ने चोको क्षेत्रमा भने सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन। भूकम्प गएको घण्टौंसम्म कतिपय क्षेत्रमा मोबाइल सेवा अवरुद्ध थियो।
चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाकाका अनुसार उक्त क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु र ८४ जना घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय अगुवाहरूले भने ठूलो संख्यामा मानिस बेपत्ता रहेको बताएका छन्।
भूकम्पपछि आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै मानिसहरूले अनलाइन डेटाबेसमा विवरण राख्न थालेका छन्। एउटा डिजिटल डेटाबेसमा मात्रै १ हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएको विवरण दर्ता गरिएको बताइएको छ। तीमध्ये अधिकांश काली र पेरेइराका छन्।
पेरेइरामा विमानस्थलको छानाका केही भाग खसेको दृश्य सार्वजनिक भएको छ। भूकम्पपछि यात्रुहरू आत्तिँदै सुरक्षित स्थानतर्फ भागेका थिए। शहरमा चारतले भवनसमेत भत्किएको छ।
पेरेइराका मेयर माउरिसियो सालाजारका अनुसार शहरमा कम्तीमा १५ वटा भवन भत्किएका छन्। ती भवनभित्र मानिस फसेको हुन सक्ने आशंकामा उद्धार टोलीले खोजी गरिरहेको छ।
नजिकैको मानिजालेसमा शहरको प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एउटा छेउको टावरसमेत भत्किएको छ। टावरको भग्नावशेष सडकमा खसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पपछि नागरिक उड्डयन प्राधिकरणले पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडान सेवा अस्थायी रूपमा स्थगित गरेको छ। पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा संरचनाको प्राविधिक निरीक्षण भइरहेको छ।
प्रशान्त महासागर वरपर फैलिएको भूकम्पीय क्षेत्रमा पर्ने कोलम्बियामा साना तथा मध्यम भूकम्प जाने गरेका छन्। यद्यपि ६ म्याग्निच्युडभन्दा माथिका शक्तिशाली भूकम्प तुलनात्मक रूपमा दुर्लभ मानिन्छन्।
यसअघि सन् १९९९ मा आर्मेनिया शहरनजिकै गएको ६.२ म्याग्निच्युडको भूकम्पमा १ हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
भूकम्पविद्हरूका अनुसार सोमबारको भूकम्पको ठूलो म्याग्निच्युडसँगै यसको चाल र केन्द्रको अवस्थिति पनि क्षतिको प्रमुख कारण हुन सक्छ।
नर्थवेस्टर्न विश्वविद्यालयकी भूकम्पविद् सुजान भान डर लीका अनुसार भूकम्प करिब १०७ किलोमिटर गहिराइमा गएको भए पनि यसको अत्यधिक शक्तिशाली म्याग्निच्युडका कारण सतहमा तीव्र कम्पन महसुस भएको हुन सक्छ।
भूकम्पपछि अमेरिकाले कोलम्बियालाई आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार आपत्कालीन आश्रय, खाद्यान्न तथा भूकम्प प्रभावितको उद्धार र राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराइनेछ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत कोलम्बियामा गएको शक्तिशाली भूकम्पलाई अमेरिकाले नजिकबाट निगरानी गरिरहेको र कोलम्बियाली जनतालाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।
ल्याटिन अमेरिकी मुलुकहरूले पनि कोलम्बियालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले तत्काल सहयोगका लागि तयार रहेको बताएका छन्।
चिलीका राष्ट्रपति होसे एन्टोनियो कास्टले पनि भूकम्प प्रभावित कोलम्बियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भूकम्पको उच्च जोखिममा रहेको चिलीले भूकम्पपछिको पीडा र चुनौती राम्रोसँग बुझेको उनको भनाइ छ।
इजरायल, इक्वेडर र फ्रान्सले समेत कोलम्बियालाई खोज तथा उद्धार र राहत कार्यमा सहयोग गर्ने प्रस्ताव गरेका छन्।
यसैबीच, उद्धार टोलीहरूले भग्नावशेषमा फसेकाहरूको खोजीलाई तीव्र बनाएका छन्। सञ्चार सेवा अवरुद्ध भएका तथा दुर्गम क्षेत्रमा रहेका प्रभावित समुदायसम्म राहत पुर्याउन भने चुनौती देखिएको छ। अधिकारीहरूले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस