काभ्रे । सक्कली सुन भन्दै नक्कली गहना र बिलसमेत देखाएर ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका–५ घर भई हाल बनेपा नगरपालिका–८ बस्दै आएका ३२ वर्षीय अशोक लामा रहेका छन्।
प्रहरीका अनुसार लामाले पीडितलाई सक्कली सुन भएको विश्वास दिलाई विभिन्न सुनका गहना तथा त्यसको बिलसमेत उपलब्ध गराएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै लामालाई पक्राउ गरेको हो।
प्रहरीले लामाको साथ तथा कोठाबाट सुनजस्तो देखिने पहेंलो धातुका विभिन्न गहना, मोबाइल फोन, नक्कली बिल तथा अन्य कागजात बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा सुनजस्तो देखिने औँठी, सिक्री, बाला तथा अन्य गहनासहितका सामान रहेको प्रहरीको प्रेस नोटमा उल्लेख छ।
प्रहरीका अनुसार पक्राउ परेका लामाविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीले यस्ता व्यक्तिको प्रलोभनमा नपर्न र सुन खरिद गर्दा आधिकारिक सुन पसल तथा विश्वसनीय स्रोतबाट मात्र कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस