२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको ताजा जनमतको सम्मान गर्दै परिवर्तनको आकांक्षा पूरा गर्न अघि बढ्नुपर्ने बताएका छन्।
सिंगापुरमा उपचारपछि बुधबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तनको बाटो सहज नहुने उल्लेख गर्दै सरकारलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका हुन्।
‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ,’ देउवाले भनेका छन्, ‘जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व हो।’
उनले सरकार आफ्नो दायित्वबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भए त्यसले सत्तारुढ दल मात्र नभई मुलुककै हितमा असर पार्ने चेतावनी दिएका छन्।
‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन,’ उनले भनेका छन्, ‘त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ।’
ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको मतको सम्मान गर्न नसके लोकतन्त्रको मूल मर्म कमजोर हुने उनको भनाइ छ। ‘लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले उल्लेख गरेका छन्।
देउवाले परिवर्तन व्यवस्थापनको प्रक्रियामा आफूहरू सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन्। उनले परिवर्तनका नाममा अन्धाधुन्ध अघि बढ्नुको सट्टा विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
‘हामी अन्धाधुन्ध दौडिने छैनौं। विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौं,’ उनले अपिलमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस